संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । संयुक्त राष्ट्रसंघको महासभाको ७८ औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री आज न्युयोर्क जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् । १९ सेप्टेम्बरमामा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ ।

२१ सेप्टेम्बरमा प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासभामा उनले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले २ असोजमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्त्वाकाङ्क्षा सम्मेलनमा भाग लिनेछन् । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागी हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् । असोज ५ मा प्रधानमन्त्री अमेरिकाबाट चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड असोजम आठ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *