चिकित्सक कुटपिटको विरोधमा मकवानपुरमा स्वास्थ्य सेवा ठप्प

हेटौंडा । कुटपिटको विरोधमा चिकित्सकहरुले मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । ज्यान मार्ने उद्देश्यले चिकित्सकहरुमाथि आक्रमण भएको उनीहरूको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएपनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन् ।

आकस्मिकबाहेक अन्य सेवा सञ्चालन गर्न असमर्थ रहेको जानकारीसहितको पत्र चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। कुटपिट घटनाको विरोधमा ७८ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *