पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी । आयोजक पाकिस्तानलाई हराउँदै श्रीलंका एसीसी एसिया कपको फाइनलमा पुगेको छ । शनिबार राति सम्पन्न सुपर चारको खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै श्रीलंकाले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

वर्षाको कारण ४२ ओभरमा छोट्टाइएको खेलमा जीतको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । श्रीलंकालाई जीत दिलाउन कुशल मेन्डिसले सर्वाधिक ९१ रन जोडे । उनले ८७ बलमा ८ चौका र एक छक्का प्रहार गरे । यस्तै चारिथ असालांकाले ४९, सादेरा समाराविक्रामाले ४८, पाथुम निसांकले २९ र कुशल पेरेराले १७ रन जोडे ।

पाकिस्तानको लागि इफ्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चिंदै ३ विकेट लिंदा शाहिन शाह अफ्रिदीले दुई र शदाब खानले एक विकेट लिए ।

यसअघि कोलम्बोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले ४२ ओभरमा ७ विकेटको क्षतिमा २ सय ५२ रन जोडेको थियो । पाकिस्तानको लागि मोहम्मद रिजवानले ८६ रन बनाए । उनले ७३ बलमा ६ चौका र दुई छक्का हिर्काए । यस्तै अब्दुल्लाह शाफिकले ५२, अफ्तिखर अहमदले ४७, कप्तान बाबर अजामले २९ र मोहम्मद नावाजले १२ रनको योगदान गरे ।

श्रीलंकाको लागि माथेशा पाथिरानाले तीन, प्रामोद मादुशनले दुई तथा महेश थाकेशाना र दुनिथ वेलालागेले समान एक-एक विकेट लिए ।

जीतसँगै ३ खेलबाट ४ अंक जोड्दै श्रीलंका दोस्रो स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको पाकिस्तान तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *