‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास

काठमाडौं । वैदेशिक रोजगारबाट गत बिहीबार नेपाल फर्किएका गुल्मीका प्रकाश अर्यालले नेपालमै बनाएर लगाएर गएको सुनमा पनि भन्सार कर लिएको उल्लेख गर्दै फेसबुकमा स्ट्याटस लेखे ।

नेपालमै बनाएर लगाएको गहनामा पनि कर तिर्न लगाइएको बताउँदै उनले लेखेको स्ट्याटसमा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयप्रतिको आक्रोश प्रष्ट देखिन्थ्यो। अर्यालले लगाएको ६९ ग्रामको सिक्रीमा ५६ हजार ६५८ भन्सार शुल्क तिर्नुपर्‍यो।

‘मैले उक्त गहना नेपालमै बनाएर बिल सहित लगाएर गएको थिए। अहिले फर्कँदा नियम विपरीत भयो भनेर सो गहनामा कर लगाइयो। नेपालमै बनाएको बिल देखाएर अनुरोध गरे पनि भन्सारका कर्मचारीहरूले मान्नुभएन। नियम अनुसार तपाईँले जसरी भएपनि कर तिर्नै पर्छ नत्र हामी सुन दिँदैन भनेपछि कर तिर्न बाध्य भए’, उनले नागरिकन्यूजसँग भने ।

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुँदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

पछिल्लो समय ३ सय ६० किलोभन्दा बढी सुन पनि त्यहीको भन्सार कार्यालयबाट सहजै पास भयो। त्यही भन्सार कार्यालय हो जहाँ महिलाले ल्याएको ५० ग्राम भन्दा माथि र पुरुषले ल्याएको २५ ग्राम भन्दा माथिको सुन भन्सार तिर्नुपर्छ। सर्वसाधारणलाई भने महिलाले ५० र पुरुषले २५ ग्राम सुन मात्र ल्याउन पाउने नियमबारे जानकारी नै नभएको पछिल्ला घटनाक्रमहरुबाट पुष्टि भएको छ। यही नियमको परिबन्दमा सर्वसाधारणले भन्सार निकै सास्ती व्यहोरी रहेका छन्।

नेपाल सरकार भन्सार ऐन, २०६४ अनुसार विदेशबाट आउने यात्रुले २ सय ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ। महिलाको हकमा ५० र पुरुषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ। त्योभन्दा बढी ल्याउन चाहेमा भन्सार तिरेर दुई सय ग्रामसम्म ल्याउन पाइन्छ।

२०८० साल जेठ १५ गतेदेखि लागू हुने गरी संशोधन गरिएको भन्सार ऐनमा यो व्यवस्था गरिएको उल्लेख छ। यस अघि महिला पुरुष दुवैले ५० ग्रामसम्म भन्सार महसुल नतिरी ल्याउन पाइने व्यवस्था थियो।

गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ। भन्सार महसुल तिरेर ल्याउन पाउने र नतिरी ल्याउन पाउने सुनको सवालमा जानकारी नै नपाउँदा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू समस्यामा पर्ने गरेका छन्। नेपाली नागरिकले नेपालमै बनाएर लगाएर गएको सुनमा पनि भन्सार तिर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ।

आफूले श्रम गरेर नेपालबाटै किनेको सुनमा पनि कर तिराइनु उचित नभएको पीडित अर्यालको भनाइ थियो।

‘विदेशबाट आउँदा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्राम मात्र ल्याउन पाउने नियम छ भन्नु भयो तर नेपालमै बनाएर लगाएर सुनको हकमा बिलसहित छ भन्दा पनि उहाँहरुले प्रष्टिकरण दिन सक्नुभएन। ‘भन्सार कर्मचारीले नियम चित्त नबुझे मुद्दा हाल्नुस् भन्छन् हामी श्रम गर्न गएका श्रमिक कहाँ मुद्दा मामिलाको झन्झट पर्नु र?’ उनले गुनासो गरे।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालले नेपालबाटै बनाएर लगाएर गएको हकमा पनि भन्सार तिर्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी दिए।

‘सर्वसाधारणका लागि आफूले पहिलै किनेर लगाएको सुनमा पनि वैदेशिक रोजगारबाट फर्कँदा भन्सार तिर्नुपर्ने कुरा दुःखद् छ। हामीले नागरिकको सहजताका लागि यी सबै कुराहरू उल्लेख गरेर यस अघि संशोधनका लागि पठाएका थियौँ। तर कानुन संशोधनमा यी कुराहरू परेनन्’, उनले भने।

उनका अनुसार संशोधित कानुनले नेपाली पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहना महसुल नतिरी ल्याउन दिन्छ। विदेशबाट आउँदा कुनै पुरुषले २६ ग्राम सुन ल्याएको छ भने उसले कानुन अनुसार २५ ग्राम मात्र छुट पाउँछ। २५ ग्राम कटाएर बाँकी रहेको १ ग्रामका पनि महसुल तिर्नुपर्ने हुन्छ।

यदि कुनै पुरुषले विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले स्वयम घोषणा गरेर एक ग्राम सुनको भन्सार महसुल तिर्नै पर्ने हुन्छ। तर, उसले घोषणा गरेन र छानबिनमा पर्याे भने चोरी पैठारीमा राखिन्छ। सुन जफत गरिन्छ। सुनको मूल्य बराबरको जरिबाना तिराइन्छ। अझ तोकिएको भन्दा बढी मात्रामा सुन ल्याएको खण्डमा तस्करीमा समेत पर्छन्।

आफूले सुन चोरी पैठारी नगरेको गुनासो लिएर त्रिभुवन विमानस्थल कार्यालय प्रमुखसँग दैनिक औसत १० वटा यस्तै गुनासो आउने गरेका छन्।

भन्सार विभागका निर्देशक सूचना अधिकारी पुण्य विक्रम खड्काले नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहेक अन्य कुनै पनि किसिमले सुनको ओसारपोसार गर्न नपाइने बताए। अधिकांश मानिसहरू छिट्टै धनी बन्न खोज्दा चोरी पैठारीका बढेका हुँदा यसलाई नियुनिकरण गर्न कानुनमा अलि कडाइ गरिएको उनको भनाइ थियो।

‘कानुन नागरिककै सुविधाका लागि बनाइने हो। गरगहना लगाउने सुविधा पनि कानुनले दिएको छ। नेपाली संस्कार, रीतिरिवाज अनुसार महिलाहरूले बढी मात्रामा गरगहना प्रयोग गर्ने हुँदा उहाँहरूलाई ५० ग्राम सम्म कानुनले छुट दिएको छ। पुरुषको हकमा सामान्य गरगहना लगाउने हुँदा २५ ग्रामसम्म छुट दिएको छ’, उनले भने।

खड्काले मानिसहरू वैदेशिक रोजगारीमा जाँदा नेपालमै नक्कली बिल बनाएर लैजाने खालका घटनाहरु पनि देखिएको हुँदा त्यस तर्फ पनि कडाइ गरेको बताए। ‘कतिपय मानिसहरुले नेपालमै केही नक्कली बिल बनाएर छाप लगाएर यो मैले नेपालमै बनाएर ल्याएको हो भन्ने घटनाहरु पनि देखिए। अब कसलाई सही भन्ने कुन कानुनलाई ठिक र बेठिक भन्ने। त्यस कारण कानुन आफैमा पनि कडा हुनै पर्छ।’ उनले कानुन खुकुलो हुँदा दुरुपयोगका घट्नाहरुको बढेका हुँदा सोही अनुसार कानुनी व्यवस्था गरिएको बताए।

यस्तै चाँदीका गहनामा ५ सय ग्रामसम्म महसुल तिरेर ल्याउन पाइन्छ। विदेशबाट नेपाल आउने नेपालीले एक लाख रुपैयाँ सम्मको जवाहिरात जडित सुनका वा चाँदीको गहना महसुल तिरेर ल्याउन पाउने प्रावधान छ। सो भन्दा बढी ल्याए जफत वा पक्राउसम्म पर्न सक्ने उनले बताए। भन्सारका अधिकारीहरूका अनुसार प्रहरीले समाएपछि जति बढी सुन भएपनि त्यो सुन जफत गर्नुका साथै त्यही मूल्य बराबरको जरिबाना तिर्नुपर्ने हुन्छ । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *