नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । यसअघि राष्ट्रियसभाले वर्तमान प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य भएका थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष भएका थिए । नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *