नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

लगानीका लागि हुने नीतिगत कठिनाइ अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लले बताए । उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरवलोकन गरेर व्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

नेपालबाट चीनमा वार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच ब्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्न चेम्बरले सुझाव दिएको छ ।

चेम्बरसँगको छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाइबारे जिज्ञासा राखेका थिए । दुई मुलुकबीच आर्थिक र कूटनीतिक सम्वन्ध उच्चस्तरीय रहेको उनीहरुको भनाइ छ । हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *