ब्रेक सुमा लुकाएर ३ क्वीन्टल बढी सुन तस्करी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङ्कङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो सुन तस्करीको विषयमा सीआईबीले अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको छ ।

गोदामहरूमा छापा मार्दा अरू पनि यसरी सामान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक सुमा लुकाएर थप ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरूलाई यकिन तौल गरेर ३ सय २ दशमलव ६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

उनीहरूलाई सातवटा ऐनको दफानुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन, २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ । यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउनेगरी राय दिएको हो ।

‘हालसम्मको अनुसन्धानका क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिक पक्राउ परेका र रेडी ट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइछिपाइ अवैध पैठारी गरेको जम्मा बरामद ६० दशमलव ७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३ सय २ दशमलव शून्य ६२ किलो गरी जम्मा ३ सय ६२ दशमलव ७७८ किलोग्राम सुनको हुन आउने मूल्य तीन अर्ब ५० करोड २ लाख २६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले भनेको छ ।

त्यसैगरी, सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँचवटा कम्पनीमार्फत ल्याइएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । ‘यस प्रकरणमा संलग्न पाँच जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता तथा राहदानीसमेत लिएको पुष्टि हुन आएको हुँदा सो सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भन्यो ।

सुन तस्करीका लागि खोलिएको थियो सातवटा कम्पनी
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यस समूहले तस्करीका लागि नेपाली नागरिकलाई प्रयोग गरेर सातवटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरू कम्पनीले भने विद्युतीय उपकरणहरू ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक प्याड (सु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३ सय ६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङ्कङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरूले जसरी काम गरेको पाइएको बज्राचार्यले बताइन् । त्यसरी सुन तस्करीका लागि खोलिएका कम्पनीहरूमा भुजेल इलेक्ट्रिस सप्लायर्स प्रालि (चावहिल), ह्वाडा इलेक्ट्रिक सप्लायर्स सामाखुसी, पवटी इलेक्ट्रिक सप्लायर्स बाँसबारी, दोलखा इलेक्ट्रिक सप्लायर्स हात्तीगौंडा, लाजिम्पाट, रेडी ट्रेड प्रालि, बालुवाटार, सोह्रखुट्टे, छुन्छुक इलेक्ट्रिक प्रालि बुढानिलकण्ठ (हाल बन्द) आदि रहेको अनुसन्धानमा देखिएको छ ।

दावा सुन तस्करका नेपाली व्यवस्थापक

६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीको निष्कर्ष छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।

आरोपीहरूलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि उनैले गरेका पाइएको प्रहरीले जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

एसपी थापाका अनुसार सुन गाल्नका लागि काठमाडौंमा टोखा र लाजिम्पाटमा दुईवटा गोदाम बनाइएको थियो । उनले सुन तस्करमा संलग्नहरूलाई सम्पर्क गरी मध्यस्थताको भूमिका खेल्ने, भेटघाटको वातावरण मिलाउने, खाने, होटलमा बस्ने लगायतको काम पनि गर्थे । सुन ओसारपसार, भुक्तानी लागि पनि दावाले सहजीकरण गरिदिने एसपी थापाले बताए ।

साथै, दावाले सुन बरामद भएर केही व्यक्तिहरू पक्राउ परेपछि अन्य चिनियाँलाई भाग्नका लागि अपार्टमेन्ट पनि खोजेको खुलेको छ । उनकै संलग्नतामा अन्य विदेशी नागरिकहरूलाई समेत नेपाली नागरिकता र राहदानीसमेत उपलब्ध गराएको अनुसन्धानमा खुलेको छ ।

‘उनकै सहयोगमा तस्करी सञ्जालका व्यक्तिहरूलाई नेपाली नागरिकता दिइएको देखिन्छ, उनीसहित पाँच जनाले नेपाली नागरिकता र राहदानी लिएको देखिन्छ,’ एसपी थापाले भने, ‘नागरिकता र राहदानी उपलब्ध गराउने व्यक्तिहरूको पनि अनुसन्धान हुन्छ, सम्बन्धित निकायमा जानकारी गराइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *