डार्फरमा हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु

सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।

दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।”

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।

सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको पाँच महिना लामो युद्धमा हजारौँ मानि मारिएका छन् भने लाखौँ विस्थापित बनेका छन् ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० जनाको मृत्यु भएको छ ।

खार्तूमको भगिनी शहर ओमदुरमानमा १७ जना सर्वसाधारणको मृत्यु भएको एक मेडिकल स्रोतले जानकारी दिएको एक दिनपछि बुधबारको आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणमा आरएसएफको सम्लग्नता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कका अनुसार आइतबार दक्षिणी खार्तुममा भएको हवाई आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

सशस्त्र बलले खार्तूमको आकाशलाई नियन्त्रण गरिरहेको छ भने आरएसएफका लडाकूहरूले शहरका सडकहरूमा प्रभुत्व कायम राखेका छन् ।
बुरहानको टर्की भ्रमण अगस्टको अन्त्यपछि पाँचौं विदेश भ्रमण हो । बुरहान आफ्ना पूर्व डेपुटीसँग विनाशकारी शक्ति संघर्षमा वैधताको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२१ मा आरएसएफको डाग्लोसँगको सहकार्यमा भएको ‘कू’ को नेतृत्व गरेदेखि नै राष्ट्रप्रमुखको भूमिका खेलिरहेका सेना प्रमुखले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ‘द्विपक्षीय सम्बन्ध र त्यसलाई बलियो बनाउने उपाय’ बारे छलफल गर्ने बुरहानको कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्धका कारण ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये १० लाख सीमा पार गरेर भागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *