६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय, ३०२ किलो सुन भित्राएको दाबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी सीआईबीले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको जानकारी दिएको हो । प्रतिवादी बनाइएका मध्ये ३२ जना पक्राउ परेका छन् भने १८ फरार रहेका सीआईबीले जनाएको छ ।

हङ्कङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय सिआइबीले दिएको छ । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।

यस प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ ।

त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएकोसुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

रेडी ट्रेडबाट ३०२ किलो सुन भित्राएको निष्कर्ष
प्रहरीले रेडी ट्रेड लिंक प्रालिले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्राएको खुलेको जनाएको  छ । पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले कम्पनीले भित्राएको सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको जानकारी दिइन् ।

उनले हङकङ ट्रान्जिट हुँदै तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड रुपैयाँको सुन भित्राएको पाइएको बज्राचार्यले बताइन् । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान 
यस प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन् । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ ।

त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्काे डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र  आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पुर्याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिइन् ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर  बाँकी अनुसन्धान जारी रहने उनको भनाई थियो । ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट  तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *