भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

युवराज विष्ट, भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगढ व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गरिरहेका छन्। लोप हुने अवस्थामा रहेको कालिगढ पेसालाई अँगालेर उनले वार्षिक  ८ लाखदेखि १० लाखसम्म आम्दानी गरिरहेका हुन्।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा अपनाएका हुन्। आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ।

“पछिल्लो समय कालिगढ पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्ख्याैली पेसा हो भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु। यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु।”

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जङ्गबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले सुनाए। तत्कालीन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ। त्यो समयमा खुकुरी चढाएबापत रु एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए।

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ”, उनले भने, “मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु। विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु। बजारमा पुरानो शैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ।”

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगढ पेसा गरिरहेका विश्वकर्माले आफूले बनाएको खुकुरी रु एक हजार पाँच सयदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको बताए। यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारका रुपमा जाने गरेको उनले जानकारी दिए। आफूले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरबार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले बताए।

अठार वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताए। “भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु”, उनले भने, “गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महँगा छन्। अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ। पहिलोपटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ।”

कालिगढ विश्वकर्माका दुई छोराले पनि यही पेसा गरिरहेका छन्। बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक रु २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए। गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ। पुर्ख्याैली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगढ पेसा गरेको ज्ञानेन्द्रको भनाइ छ। मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउँछन्।

“यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ”, उनले भने, “हाम्रो गाउँमा विगतमा १० परिवार कालिगढ रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ। यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगढ पेसा गर्दै आएको छु। यसबाट आम्दानी पनि राम्रै छ।”

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगढ पाउन समस्या छ। खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा सङ्कटमा पर्ने अवस्था छ। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ।

“यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्”, विश्वकर्माले भने, “दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ। बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन। बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ। सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो।”

बजारको राम्रो व्यवस्था नहुँदा मेहनतअनुसारको आम्दानी लिन कठिनाइ हुने गरेको विश्वकर्माको भनाइ छ। एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ।

आफूले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकाले आकर्षकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ।

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ। गुणस्तरीय ढङ्गले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउँछन्। सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उनले बताए।

“भोजपुरे खुकुरी भन्नेबित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ”, विश्वकर्माले भने, “घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै आकर्षक देखिन्छ। तर उपभोक्ताले सस्तो खोज्ने चलन छ। बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक छ।”

खुकुरी बनाउने पराम्परागत शैलीलाई यथावत् राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाइराख्न टेवा पुग्ने कालिगढ विश्वकर्मा बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *