५ हजारबाट सुरु भएको व्यवसायमा अहिले महिनामै लाखौं आम्दानी

रुपनी जिएम बाँके ।  ‘अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ’, यो भनाइ हो नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक ऋचा लुइँटेलको। सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले ऋचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन्। तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उनले बताइन्।

‘सुरुमा सानो पुँजीमा पाँच वटाजति गहना किनेकी थिएँ। त्यो जम्मा पाँच हजारको थियो’, उनले भनिन्, ‘एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो। त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुईवटा साथीलाई उपहार दिएँ।’

दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक  ३५ हजार थियो। तर उनी त्यो कामबाट सन्तुष्ट भइनन्।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले ऋचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन्। जुन नेपालगन्जमा एकदमै नयाँ थियो।

‘अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो। त्यो फरक मैले नेपालगन्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ’, उनले भनिन्, ‘यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यसको सुरुवात गरेँ।’

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छन्। उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन्। ऋचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ। ‘अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु’, उनले भनिन्, ‘टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ।’

हाल उनले मासिक  १० लाखको कारोबार गर्छिन्। जसबाट रु एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ। घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले सुनाइन्।

हिजोआज ऋचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ। महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने ऋचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले ऋचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो। उनका अनुसार उक्त मेलामा ऋचाले ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरिन्।

‘त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ। त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो’, उनले भनिन्, ‘मैले तत्कालीन समयमा जोखिम लिए रु ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो। मैले रु एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ।’

दुई सन्तानकी आमा ऋचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी हुन्। ऋचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *