बीपी प्रतिष्ठानका अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अधिकृत साहले विभिन्न व्यवसायीबाट विद्युत महसुलबापत ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएको र सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको पाइएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

दाहालका अनुसार अधिकृत साहले विद्युत महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेकोसमेत पाइएको थियो ।

साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकाले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना तथा बिगोसमेत असुल उपरको माग दाबी गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *