बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए त्यसबारे जनतालाई जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
मंगलबार बुटवलमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्नुपर्ने बाध्यता आफूहरुलाई आइलागेको बताए ।
व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुनेबारे जनतालाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘त्यो इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन । हामी कसैलाई शत्रु घोषणा गर्दैनौं ।’
उनले देशभन्दा ठूलो सत्ता हुन नसक्ने भन्दै पहिला देशलाई बचाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले भने, ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने, हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् । विदेशीका सामु हामी झुक्नुपर्ने कारण छैन ।’
बुधबार अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौं आएका छन् ।