समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।

ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गरेका हुन् ।

“स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,” प्रधानमन्त्री दाहालले भने, “मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु ।”

प्रधानमन्त्री दाहालले प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने, “प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन सुन्दर छ, भैँसेपाटी ठाउँ पनि रमाइलो छ, मैले यसलाई भवन र स्थानको कुरा हैन, हाम्रा प्रदेशहरूलाई प्रभावकारी बनाउनुपर्ने छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेलामौकामा केही मानिसले प्रश्न उठाउने गर्छन् त्यसको जवाफ पनि हो । जुन सङ्घीयता संस्थागत गर्न एक कदम अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक स्थिरता र स्थायित्वको वातावरणलाई अझ राम्रोसँग अगाडि बढाउन तथा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नयाँ भवनले समृद्ध सुसंस्कृत, प्रणाली र विधिविधानमा चल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले प्रदेश सरकार र स्थानीय तहले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह पनि गरे ।

प्रधानमन्त्री दाहालले नयाँ मन्त्री बनेपछि पुल्चोकको मन्त्री निवासमा को पहिला गएर कुन क्वाटरमा बस्ने भन्ने ‘लिगलिगे दौड’ हुने गरेको ठट्ठा गर्दै अब त्यस्तो प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले सङ्घीय मन्त्रीको निर्माणाधीन निवासमा पनि सम्बन्धित मन्त्रीको तोकेको खण्डमा भवनको मर्मत स्याहार प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसको संस्थागत विकासका निम्ति नवनिर्मित भवन उदाहरणीय हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले समन्वय र सहकार्यका साथ जनतालाई छिटो छरितो र सहज ढङ्गले सुविधा दिलाउनेतर्फ सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङ्गले नयाँ सहर, ‘स्मार्ट सिटी’ निर्माणलाई अगाडि बढाउन मन्त्रालय लागि परेको र निर्माणाधीन पूर्वाधारको चाँडो निर्माण सम्पन्न गर्नेतर्फ पनि ध्यान दिइएको उल्लेख गरे ।

सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले मन्त्रालयलाई दिएको जिम्मेवारी अनुरुप प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण सम्पन्न गरिएको तथा निर्माणाधीन सङ्घीय मन्त्री निवास पनि छिट्टै सम्पन्न गर्ने योजना रहेको बताए । उनका अनुसार सहरी विकास मन्त्रालयले प्रदेश प्रमुख र मूख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण गरेको हो ।

विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्षभित्र निवास भवन सम्पन्न गरिएको छ । सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक÷एक भवन एउटै कोलोनिमा निर्माण गरिएको छ ।

सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ । अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित रु ८५ करोड रहेको मन्त्रालयले जनाएको छ । केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्री हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण गरेका थिए ।

उद्घाटन समारोहमा सङ्घीय मन्त्रीहरु, सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्री, मुख्यसचिव, ललितपुर महानगरपालिकाका प्रमुख, ललितपुरका जनप्रतिनिधि उच्च सरकारी अधिकारीलगगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *