काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
सीआईबीले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले मंगलबार फाइल आएको र अब अध्ययन गरेर अदालतमा मुद्दा दर्ता गरिने बताए । प्रतिवेदन बुझाउने अन्तिम दिन सीआईबीले आरोपितहरुसँग बयान लिएको थियो ।
सीआईबीले सोमबार पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशीसँग र आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको पनि बयान लिएको थियो । सीआईबीले सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी कागजात तथा दस्तखत किर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।
सीआईबीले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहितका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ ।
सीआईबीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीको रुपमा मात्र राखेको छ । सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङस, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार साहसहितलाई २३ जनालाई पक्राउ गरेको थियो । तर पाँच जना रिहा भएका छन् भने १८ जना हिरासतमा छन् ।