पाकिस्तानमा गिर्जाघरहरूमा आगजनी गरेको आरोपमा एकसय भन्दाबढी पक्राउ

इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको अपमान गरिएको भन्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित एउटा सहरमा हजारौँ मानिसहरूले कम्तीमा चारवटा गिर्जाघरमा आगजनी र इसाईहरूका केही घरमा तोडफोड गरेका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार जरान्वाला सहरस्थित ती गिर्जाघरसँग जोडिएका एक दर्जनजति भवनमा पनि क्षति पुगेको छ । ती घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एकसय जनाभन्दा बढीलाई हिरासतमा लिएको छ र हिंसाबारे अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार जरान्वालामा स्थिति तनावपूर्ण छ। गिर्जाघरको भग्नावशेषलाई काँडेतार लगाएर घेरिएको छ । जरान्वाला पर्ने फैसलाबाद जिल्लामा सात दिनका लागि मानिसहरू सार्वजनिक स्थानमा भेला हुन नपाउनेगरी निषेधाज्ञा जारी भएको छ ।

इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरान च्यातेको आरोप लागेका दुई व्यक्ति अझै पक्राउ परेका छैनन्। तर उनीहरूविरुद्ध ईशनिन्दाको अभियोग लगाइएको छ । पाकिस्तानमा ईशनिन्दालाई मृत्युदण्डसम्म हुन सक्ने अपराध मानिन्छ।

तर अहिलेसम्म कसैलाई ईशनिन्दाको अभियोगमा मृत्युदण्ड दिइएको छैन । तर उक्त ईशनिन्दाको आरोप लागेका दर्जनौँ मानिसको भिडले गरेको आक्रमणका कारण हत्या भएको छ ।

दुई वर्षअघि ईशनिन्दाको आरोप लागेका श्रीलङ्काका एक नागरिकलाई भिडले आगो लगाएर हत्या गरेको थियो। सन् २००९ मा पन्जाबको गोर्जा जिल्लामा इस्लाम धर्मको अपमान गरेको भन्दै भिडले ६० वटा घरमा आगजनी र छ जनाको हत्या गरेको थियो । पाकिस्तानको जनसङ्ख्याको ९६ प्रतिशत भाग मुस्लिमहरूको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *