फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा कांग्रेस नेता रिजाल सहभागी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् ।

आफूले कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो ।

यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ । सोही कानुन निर्माणमा डा रिजाल सहभागी भएका हुन् ।

निर्वाचनमा विभिन्न आठवटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानुन निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिए । “महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उनले दिए ।

सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ ।

सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताए ।

उनले बांसामोराका मुख्यमन्त्री अहोड बी इब्राहिम, त्यहाँका सभामुखलगायत शीर्षनेतासँग छलफल गरिरहेका छन् । रिजाललाई संसद बैठक चलिरहेका बेला मुख्यमन्त्री इब्राहिमले निर्वाचन कानुनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा डा रिजाल सहभागी भएको जानकारी गराएपछि सभामुखले संसद् बैठक स्थगित गरी सबै सांसदहरूसँग उनको परिचय गराएका थिए ।

संविधानसभा सदस्य तथा पूर्वसांसद रिजालले नेपालले पनि फिलिपिन्सबाट पाठ सिक्नुपर्ने बताए । “नेपाल पनि द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको देश हो । अझै हाम्रोमा द्वन्द्वको धङधङी गएको छैन । शान्ति प्रक्रियामा आएको छोटो समयमै फिलिपिन्सले देखाएको एकता र शान्तिप्रतिको प्रतिबद्धता नेपालका लागि उदाहरणीय बन्न सक्छ ।”

अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका रिजाल अध्यापनमा पनि संलग्न रही आएका छन् । अन्तर्राष्ट्रिय कानुनका जानकार उनी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषयविज्ञका रूपमा सहभागी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *