हिमाली तथा पहाडी क्षेत्रमा अब १२ बजेपछि उडान हुने, मौसमको भने सुनिश्चितता हुनुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरण कर्णाली प्रदेशमा मध्यान्ह १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।

प्राधिकरणले साउन १२ गते हवाई सुरक्षालाई मध्यनजर गर्दै मध्यान्ह १२ पछि हिमाली तथा पहाडी क्षेत्रमा व्यावसायिक तथा चार्टर्ड उडानमा रोक लगाएको थियो ।

अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चिततापछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दिउँसोको समयमा हवाई उडानमा रोक लगाउने निर्णय गरेपछि कर्णालीमा चौतर्फी विरोध भएको थियो । प्राधिकरणको नयाँ नियमले दिउँसोको समयमा जहाज तथा हेलिकोप्टर उडानमा रोक लाग्दा हुम्लामा चार बालकले ज्यान गुमाएका थिए भने बिरामी, सुत्केरी, खाद्यान्न र निर्माण सामग्री ढुवानीमा असर परेको थियो ।

बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटनमन्त्री सुदन किराँती र महानिर्देशक प्रदीप अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *