काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन, लागत दुई अर्ब घट्ने

काठमाडौँ । काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै दुई अर्ब घट्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।”

काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाखको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *