दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले उनीमाथि एकै मितिमा दायर भएका पाँचवटा मुद्दामा कसुर कायम गर्दै सजाय सुनाएको हो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । रिजालले सेवाग्राहीसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनलाई एउटा मुद्दामा एक वर्ष कैद तथा ४ लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर हुने सजाय सुनाइएको छ। बिगोमध्ये दुई लाख उनको बैंक खातामा भेटिएकोमा जफत हुनेछ भने बाँकी दुई लाख उनले तिर्नुपर्नेछ।

यसैगरी, रिजालले यस्तै अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस लिएको भेटिएको थियो। उस्तै त्रास देखाई उनले सेवाग्राहीबाट सो रकम लिएका थिए ।

यस मुद्दामा समेत उनलाई दोषी ठहर गर्दै विशेषले ३५/३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला गरेको छ भने तीन महिना कैद सजाय तोकेको छ । त्यस्तै, उनलाई अर्को एउटा मुद्दामा ९०/९० हजार रुपैयाँ बिगो र जरिवाना तथा पाँच महिना कैद सजाय सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *