स्वीडेनलाई हराउँदै स्पेन महिला विश्वकपको फाइनलमा

एजेन्सी । स्पेन फिफा महिला विश्वकप-२०२३ को फाइनलमा पुगेको छ । मंगलबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई २-१ गोलले हराउँदै स्पेन इतिहासकै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो ।

इडेन पार्कमा भएको खेलमा स्पेनलाई जीत दिलाउन सल्मा पारालुएलो र ओल्गाले समान एक-एक गोल गरिन् । स्वीडेनको लागि रेबिका ब्लोम्भिस्टले एक गोल फर्काइन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १० मिनेटमा तीन गोल भएको हो ।

खेलको ८१ औं मिनेटमा सल्माले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ८८ औं मिनेटमा रेबिकाले गोल गर्दै स्वीडेनलाई बराबरीमा ल्याउँदै खेललाई रोमाञ्चक मोडमा लगेकी थिइन् । तर निर्धारित समयको अन्तिम मिनेटमा ओल्गाले गोल गर्दै स्पेनलाई इतिहासकै पहिलोपटक विश्वकपको फाइनलसम्म डोर्याएकी हुन् ।

हारसँगै स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ । अब स्पेनले फाइनल खेलमा भोलि बुधबार घरेलु टोली अष्ट्रेलिया र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *