नातिभन्दा पछि बज्यैको नागरिकता

बझाङ  । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँकी हुन् ८९ वर्षीया गिठीदेवी जोशी। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन्। सदरमुकाम नजिकै रहेपनि ८९ वर्षपछि नागरिकता लिएकी हुन् उनले।

यसअघि नागरिकताको महत्व र आवश्यकता थाहा नहुँदा उनले नागरिकता लिएकी थिइनन्। पछि उनकै छोरा गोरिलालले आफ्नी आमाले नागरिकता नपाएकोबारे प्रशासनलाई खबर गरेका थिए। त्यसपछि प्रमखु जिल्ला अधिकारी नारायण पाण्डेयको टोली उनकै घर पुगेर गिठादेवीलाई नागरिकता दिएको हो।

‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी पनि देखिए ।

सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

नातिभन्दा पछि बज्यैको नागरिकता

गिठादेवीको विवाह २०२० मा मष्टा गाउँपालिका-३ भातखोलाका कृष्णप्रसादसँग भएको थियो। गौरीलाल कृष्णप्रसादका जेठी श्रीमतीतर्फका छोरा हुन्। उनी अहिले ६१ वर्ष भए। गौरीलालले २०४२ सालमै नागरिकता लिइसकेका छन्। गौरीका छोरा छोरीले पनि नागरिकता लिइसकेका छन्।

कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन्। पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ ।

‘सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन,’ उनले भने।

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उहाँहरूले घरमै आएर नागरिकता दिनुभएको गौरीलालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *