सुनिल शर्मा पक्राउप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएकी छिन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै सांसद साहले म्याद सकिएको प्रमाणपत्रलाई लिएर अहिले बखेडा झिकिएको बताएकी हुन् ।

उनले भनिन्,’सुनिल शर्माजीलाई पक्राउ गरिएको छ । जसले पटक–पटक सुनकाण्डमा छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहनु भएको थियो । उनलाई कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन, उहिल्यै म्याद सकिएको प्रमाणपत्रलाई देखाएर अहिले बखेडा झिकेर समातिएको छ । यसमा घोर आपत्ति छ ।’

केही दिन अघि संसद बैठकमा विशेष समय लिएर बोलेका शर्माले १ क्विन्टल सुन तस्करी प्रकरणमा सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *