नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा थप एक चिकित्सक पक्राउ

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा थप एक चिकित्सकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले धापासीस्थित इशान हस्पिटलकी डा. श्रद्धा सिल्पकारलाई पक्राउ गरेको हो ।

उनीसहित नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ६ पुगेको छ । बिहीबार प्रहरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित पाँच जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ ।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *