भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी 

भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न  पाउँदैनन् ।

“बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरी भन्छन्– “बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले  समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या  पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्न । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ”, चौधरीले भने । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ ।

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । “बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ”, स्थानीय रीता बोहरा भन्छन् ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउनुहुन्छ । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । “भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ”, नगरप्रमुख चौधरीले भने ।

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताए । पानीको निकास नहुँदा तथा  जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उनको भनाइ छ । उहाँले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताए ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताउनुभयो । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *