कांग्रेसले अब पुरानो पार्टी भनेर मात्रै हुँदैन, समयानुकुल हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई समयअनुकुल सुदुढ नबनाई ठूलो र पुरानो पार्टी भनेर मात्रै नहुने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले इतिहासको कुरा मात्रै गरेर नहुने भन्दै कांग्रेसलाई आम नेपालीको मन जित्नेगरी समय अनुकुल अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले कांग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार गरेर जनतामा जानु पर्ने उल्लेख गरे ।

उनले कांग्रेसका गतिविधि खर्चिलो हुनथालेको भन्दै त्यसमा पनि सुधार ल्याउनु पर्ने बताए । उनले पार्टीभित्र मतभेद हुनु स्वभाविक भएपनि एक अर्कोलाई दोष लगाएर कोही पनि नेता बलियो हुन नसक्ने भन्दै सार्वजनिक रुपमा गरिने त्यस्ता टिप्पणीले कसैलाइ हित नहुने बताए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्दङवेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु पार्टीका तल्लोदेखि माथिल्लो निकायमा रहेका सबैले पालना गरेर अघि बढ्न सके कांग्रेस बलियो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *