दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् ।
आदिवासी जनजाति दिवसको अवसरमा शनिबार आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताए ।

“सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ”, उनले भने ।

उनले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षणसमेत गराए । अध्यक्ष ओलीले हुम्लाको दुर्गमता र अप्ठेरो जिन्दगी आफूले देखेको भन्दै भने, “त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।”

उनले हुम्ला जिल्लाको साथमा आफू रहेको भन्दै आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकामा केही गर्न सकिन्छ भनेर सोचिरहेको उनले भनाइ राखे ।

“त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीलाई न्यानो कपडा विवतरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु”, उनले भने । आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कुन कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्नेसमेत बताए । उनले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पालगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौँमा ल्याएर पढाउने भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताए । ती बालबालिकाको नेतृत्वका विकासका लागि शिक्षा दिन आवश्यक रहेको उनको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *