झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

झापा । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।

खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ ।

झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु सङ्क्रमित भएका छन् भने सात सय ८५ वटा मरेको भट्टराईले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा पहिला दमक नगरपालिकाले आफैँले खोप खरिद गरेर नगर क्षेत्रका किसानको गोठमै पुगेर पाँच हजार खोप लगाएको छ ।

विभिन्न पालिकामा सात हजार एक सय ९० खोप सरकारी तहबाट र २३ हजार छ सय ६६ खोप निजी गाई फार्मले आफैँ खरिद गरेर लगाइएको हो । बिर्तामोड नगरपालिकामा किसानले प्रतिखोप एक सय ३० रुपैयाँ तिर्नुपर्छ भने अर्जुनधारामा ५० रुपैयाँमा मात्र तिर्नुपर्छ । खोपको अरु लागत र प्राविधिक खर्च पालिकाले व्यहोर्ने गरेका छन् ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरलाई चार सय खोप निःशुल्क उपलब्ध गराएको थियो । उक्त निःशुल्क खोप गौरादह, भद्रपुर, हल्दिबारी र कचनकवललाई एक सय खोपका दरले उपलब्ध गराइएको भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *