जातीय आन्दोलनलाई बढावा दिने काम किन हुँदैछ ?

मोहन लामा रुम्बा ।
माओवादीले हतियार उठाएर भर्खर भर्खर सशस्त्र लडाइँ लड्दै गरेको बेला थियो, नेपाली कांग्रेसको पार्टी कार्यालय त्यतिबेला टेकुमा थियो । पार्टी कार्यालय भित्र रहेकोे चिया पसलमा आठ दस जना बृद्ध अवस्थका राजनीतिले खारिएका भुक्तभोगी बुढाहरु चिया पिउँदै एकापसमा गफ गर्दै थिए ।

ती बुढाहरु भन्दै थिए माओवादी छिट्टै देशैभर विस्तार हुनेछ, त्यसैको वातावरणको लागि दरबारी शक्तिले देउवालाई प्रधानमन्त्री बनाएको हो भन्दै थिए । त्यतिबेला मैले पत्याउने कुरै भएन, म भर्खरको ठिटो थिएँ, धेरै विद्वान् थिएँ, मैले सारा देशविदेशको कुरा जान्दछु भन्ने मन मनै घमण्ड लाग्ने बेला थियो, मैले प्रतिवाद गर्दै भनें– शेरबहादुर देउवा कांग्रेस पार्टीको मान्छे कसरी माओवादी उत्पादन गराउन फैलाउन प्रधानमन्त्री भएको हो र ? जुन प्रधानमन्त्रीले ‘किलो सेरा टु’ र ‘रोमियो’ अपरेसन जस्तो चलाएर माओवादी दमन गर्दै छ ? भनेर प्रतिवाद गरें।
बुढाहरुले हाँस्दै भने – हो त्यही माओवादी उत्पादन गराउन चलाएको अप्रेसन हो ‘किलो सेरा टु’ ‘रोमियो’ अप्रेसनहरु बाबु ! अब यो अप्रेसन अहिले जुनजुन इलाका क्षेत्रमा (लालु, कुमालगाउँ, मालकोट र कोटबाडामा) चलायो त्यहीँबाट माओवादी फैलिन सुरु हुन्छ, यो दमन गरेको होइन उत्पादन गरेको हो बाबु रे !! म मुसु–मुसु हाँसे,मैले पत्याइनँ । कसरी पत्याउनमैले ? म त महा–विद्वान् थिएँ त्यतिबेला !
एवं रितले केहीवर्ष बित्यो, राजदरबार हत्याकाण्ड भयो त्यसपछि माओवादीले आधिकारिक रूपमा हाम्रो अघोषित सहकार्य अहिलेसम्म दरबारसँग थियो भनेर कुरा सकार्यो। त्यसपछि बल्ल अलिकति हल्का कानमा बतास चल्यो !
आज !

एउटी महिलाले जाति तोकेर त्यो जातिको भावनामा ठेस लाग्नेगरि केही बोल्छ, बोल्नासाथ होहल्ला हुन्छ, त्यसपछि जूलूस धर्ना सुरु हुन्छ यहाँसम्म स्वाभाविकै भनौं । त्यसपछि उजुरी लिएर प्रहरीकोमा पुग्छ प्रहरीले पक्राउ गर्छ एकैछिनमा छोड्छ, त्यसपछि पक्राउ गर भन्दै जूलूस निक्लिन्छ, त्यो जुलुसमा बाबुराम भट्टराईको केन्द्रीय कमिटीका सदस्यहरुको धुलाई हुन्छ। एकपटक कल्पना गर्नुस् सरकारले चाहेको भए वा प्रशासनले चाहेको भए ती दुबै पक्षलाई एक ठाउँमा राखेर दोहोरो छलफल गराएर लिखित मौखिक माफी मगाएर एक घण्टामा टुंगिने कुरा थियो तर यहाँनेर किलो सेरा टु र रोमियो अप्रेसन गर्दै सामान्य स्थितिलाई असामान्य बनाउँदै जातीय आन्दोलनलाई विस्तार गर्न बाबुराम भट्टराईलाई खेल मैदान तयार गरेर दिंदै छ !

अहिले प्रशासनिक दमन गर्दै झन्झन् उक्साउँदै छ । हुनसक्छ एक दुई जनालाई यही बेला सिल्टिम्मुर बनाएर झनै यो जातीय आन्दोलनलाई देशव्यापी उचाइमा लैजाने वातावरण गराउन खोजेको पनि हुनसक्छ । आज मलाई ती बुढाहरुको सम्झना आइरहेको छ। शक्ति केन्द्रले सरकारमार्फत हिंसालाई बढाउनको लागि कसरी उक्साउने काम गर्छन् भनेर भनेको थियो आज ती बुढाहरुको सम्झना आइरहेको छ परिस्थिति त्यतै मोडिँदै गइरहेको महसुस गर्दै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *