विदेश मामलाका सन्दर्भमा नेपालले कुनै पक्षधरता देखाउन हुँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश मामलामा नेपालले कुनै पक्षधरता देखाउन नहुने बताएका छन् । पार्टीको परराष्ट्र मामिला विभागले शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले युक्रेन–रुस युद्ध होस् कि अरु कुनैमा पनि पक्षधरता लिन नहुने बताएका हुन् ।

उनले नेपाल शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए। उनले भने,’युक्रेन–रुस वार होस् कि जुनसुकै होस्। शान्ति र न्यायको पक्षमा नेपाल रहनुपर्छ।’

अध्यक्ष ओलीले युद्धबाट लाभ लिन्छु भनेर कसैले सोच्छ भने त्यो भ्रम मात्र हुने बताए । उनले सैनिकको सन्दर्भमा पनि तटस्थताको नीति अवलम्बन गर्नुपर्ने बताए । अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत तथा तालिम गर्दा पनि हामीले छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्नुपर्ने बताए ।

उनले छिमेकी मुलुक चीन र भारतसँग द्धिपक्षीय समस्याबारे खुलस्त कुरा राख्न सक्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतर्फ संकेत गर्दै अध्यक्ष ओलीले भारत भ्रमणमा प्रधानमन्त्रीले कुरै राख्न नसकेको बताए ।

उनले भने, ‘हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त आफ्ना कुरा राख्न सक्दैनौँ र आफ्ना जायज हितहरू बोल्न सक्दैनौं भने यस्तो सत्ता र सरकारको के अर्थ भयो ? छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले समस्या समाधान गर्नुपर्छ ।’

उनले व्यक्तिगत र केही देशको इगोले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) अशक्त भएको टिप्पणी गरे । उनले भने,’अहिले सार्कको त अस्तित्व छैन जस्तो भइसक्यो । विभिन्न व्यक्तिगत इगो होलान् र केही देशको इगो होलान् जसले गर्दा एउटा क्षेत्रीय संगठन अशक्त भएर, निरीह भएर बस्ने अथवा निष्प्रभावी भएर बस्ने अवस्था छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *