माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ । यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ ।

काठमाडौंको कमलादीमा बसेको दोस्रो दिन बिहीबारको बैठकमा आफ्नो सुझाव राख्दै केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै पार्टीलाई विधि, विधान तथा नियमअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन् । प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न उठाएपछि एकछिन बैठकमा सन्नाटा छाएजस्तो भयो ।

‘अध्यक्ष आफैं रूपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउन सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनुहुन्न ?’ पन्तले बैठकमा भने ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई बचाउन परिवारवादबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा स्वकीय सचिव छिन् भने गृहमन्त्री श्रेष्ठले भतिज सुरेशकाजी श्रेष्ठलाई स्वकीय सचिवालयमा राखेका छन् ।

पन्तजस्तै केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले प्रचण्डले प्रधानमन्त्री भएर गरेका राम्रा काम उनकै छोरीज्वाइँले खाइदिएको टिप्पणी गरेका छन् । ‘ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने ? जनताका छोराछोरी संगठन बनाउन गाउँगाउँ जाने, तपाईंका छोरीज्वाइँ पार्टीको संगठन बनाउन मुगुमा जान्छन् ? म त जान तयार छु,’ शर्माले भने । उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका अन्य नेताको सम्पत्ति छानबिनको मागसमेत गरेका छन् ।

उनले यो पार्टीको आयु ५ हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने धारणा राखेका छन् । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्नेमा आफूलाई विश्वास नलागेको बताए ।

यसैगरी, केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी विधानअनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । पार्टीले बनाएका योजना कार्यान्वयन नहुने समस्या रहेको समेत उनीहरूले बताए ।

बैठकपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन् । उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको उल्लेख गरिन् । सांगठनिक रूपमा पनि पार्टी भद्रगोल भएको भन्दै उनले पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । त्यस्तै, पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा सुझाव दिएकी छन् ।

केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए । २०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने उनले बताए । उनले माओवादी पार्टीजति विधानमा अरू कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्न नहुने बताए ।

‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन, सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने हो । २०८४ सालमा पुग्दाखेरि अहिले सरकारले गरेका राम्रा कामको बलबुतामा पार्टी रूपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने,’ सापकोटाले भने, ‘२०८४ सालमा पुग्दाखेरि पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने । जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । रिसाएका जनताको मन खुसी बनाउने, तीन महिनाभित्र विधान सम्मेलन गर्ने ’cause विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदलिदिन्छौं, परिवर्तन गर्छौं, थपिदिन्छौं, घटाइदिन्छौं ।’

केन्दीय सदस्य रामनारायण बिडारीले पार्टीका नेता तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रूपले उठिरहेको बताए । पार्टी टाठाबाठा र हुने खानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए । उनले सरकारको कामले जनतालाई आशा जगाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताए । आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उनले बताए ।

केन्द्रीय सदस्य केशवराज कुँवरले नेताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताले सामूहिकतामा विश्वास गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलप्रति आशंका र अविश्वास पैदा भइरहेको अवस्थामा पार्टीलाई रूपान्तरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । उनले पार्टी अध्यक्षले पार्टीलाई रूपान्तरण गर्दै अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन् ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादीमा विचार र व्यवहारबिच तालमेल नमिल्दा पार्टी ओरालो लागेको टिप्पणी गरेका छन् ।

‘कम्युनिस्टहरूको विचार व्यवहारमा अभिव्यक्त हुने र व्यवहार विचारलाई थप विकसित गर्ने साइकल हो । तर, माओवादीमा यो साइकल भताभुंग लथालिंग छ । न त हाम्रा व्यवहारले विचार थप विकास हुने ठाउँ देखिन्छ,’ न्यौपानेले भने, ‘विचारअनुसारको व्यवहार नहुँदा धेरै अन्योलता आएको छ । माओवाद जुन उद्देश्यका निम्ति बनेको सिद्धान्त हो त्यसको प्रयोग हामीले गलत ठाउँमा गरिरहेका छौं ।’

सुन प्रकरणले पायो प्रवेश

यस्तै, बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणले प्रवेश पाएको छ । केन्द्रीय सदस्यले सुन तस्करी प्रकरणको विषय प्रवेश गराउँदै सुन तस्करी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सुन तस्करी प्रकरणमा पार्टीकै शीर्ष नेताको नाम मुछिएको विषयले प्रवेश पाएको हो । सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष ढंगले गर्नुपर्ने र संलग्न भएको पाइएमा कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा पार्टीभित्रैका मान्छेको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए । बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनले बताए । पार्टीका नेता भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने र निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

एक क्विन्टल सुन प्रकरणमा उपमहासचिव वर्षमान पुनको नाम मुछिएको छ । सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग भेटेको तस्बिर सार्वजनिक भएपछि पुनको नाम मुछिएको हो ।

तर, केन्द्रीय समिति बैठकअघि नै उपमहासचिव पुनले आठ वर्षअघिको पारिवारिक भेटघाटको तस्बिरलाई लिएर आफ्नो नाम मुछिएको बताएका थिए । पुनले उच्चस्तरीय छानबिन वा न्यायिक छानबिन समिति बनाएर सुन तस्करी प्रकरण’bout अनुसन्धान गर्न माग गरेका थिए । पार्टीकै उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पनि नौ किलो सुन प्रकरणमा मुछिएका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामको प्रचार गर्न नेताहरूले कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । श्रेष्ठले सरकारले गरेका राम्रा कामको जस लिन नेताहरूले नै कन्जुस्याइँ गरेको गुनासो गरे ।

‘सरकारले गरेका राम्रा कामको प्रचारप्रसार भएन । जस लिने कुरामा हाम्रा नेताहरू तथा कार्यकर्ताबाटै कन्जुस्याइँ गरेको देखियो,’ उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारमा रहेका मन्त्रीबीच सरसल्लाह गरेर काम गरिरहेका छौं ।’

बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पार्टी राम्रो बनाउन सबै नेता एकढिक्का भएर मिहिनेतका साथ लाग्नुपर्ने बताए । महराले सुन प्रकरणमा आफ्नो नामसमेत जोड्नुमा राजनीतिक पूर्वाग्रह देखिएको बताए । सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत पनि प्रस्ट पारिसकेको उनले बताए ।

‘सुन प्रकरणका विषयमा मेरो विषयमा मैले प्रेस विज्ञप्ति जारी गरिसकेको छु । आज बिहान एउटा स्टाटस जारी गरेको छु । त्यसमा मेरो कुनै संलग्नता छैन । यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ,’ उनले भने ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन मौखिक रूपमा बुधबार पेस गरेका छन् । केन्द्रीय सदस्यहरूले समेत सोही आधारमा आफ्ना सुझाव व्यक्त गरेका छन् ।  राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *