सुन तस्करी प्रकरण सामसुम पार्ने षड्यन्त्र हुनसक्छः शेखर कोइराला

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्वीन्टल सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेका बताएका हुन् ।

भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेको बताएका हुन् । उनले भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्काे काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुनसक्ने बताए ।

उनले भने, ‘एकपछि अर्को इस्यू आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै । किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।’

कोइरालाले सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरेर नहुने बताए । उनले यसको अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी दिनुपर्ने बताए ।

उनले भने, ‘राजश्व अनुसन्धान विभागलाई ओलीजीले प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउँछु भन्नुभएको थियो तर फर्काउनु भएन । अहिले पनि प्रधानमन्त्रीले फर्काउनु भएन । अब आफैं बुझ्नुस् सुनकाण्डमा राजश्व अनुसन्धान विभाग मात्र इन्भल्भ छ । सीआईबी किन छैन।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापतिकोमा जाने गरेको बताए । उनले भने, ‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन । सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ।’ उनले गाली गर्ने स्वभाव आफूमा नभएको भन्दै सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *