पोखरामा पूर्वाधार परियोजनाका लागि विश्व बैंकले तीन अर्ब सहयोग गर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । विश्व बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो ।

यही श्रावण १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले जानकारी दिए । “विश्व बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ, प्रमुख आचार्यले भने, यस बाहेक थप दुई वटा महत्वपूर्ण परियोजनाहरू छनौट गरेका छौँ । यी सबै परियोजना २.५ वर्ष भित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।” प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्न पश्चात् नमुना सडक बन्नेछन् ।

यी सबै परियोजनाहरूमा विश्व बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुडिटार सडक १.५ अर्ब र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक १ अर्ब लागतमा स्तरोन्नति हुनेछ ।

तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जे भी काठमाण्डौले निर्माणको ठेक्का पाएको छ । अन्य दुई वटा परियोजना सर्वेका लागि विश्व बैङ्कको प्राविधिक टोली खटिने तयारीमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *