काठमाडौं । मौनता श्रेष्ठ नेपाली चलचित्र जगतकोलागि नौलो नाम होइन । वि.सं. २०५६ साल देखि चलचित्र लेखनमा रहेका उनले १५० भन्दा बढी चलचित्र लेखि सकेका छन् ।
वि.सं.२०६१ बाट निर्माताको रुपमा पनि अगाडि आएका हुन् । वि.सं. २०६१ साल देखि हाल सम्म ७ भन्दा बढी चलचित्र निर्माण गरिसकेका उनी अहिले अर्को चलचित्र निर्माणको तयारीमा जुटेका छन् ।
स्थापित अनुहारको कामलाई मात्र विश्वास गर्न सक्ने स्वभावका उनी आफ्नो पछिल्लो चलचित्र आँधीतुफान–२ मा केही नयाँ अनुहारसँग काम गरेर भने तर्सेका छन् । निर्माणको क्रममा रहेको चलचित्रमा कुनै पनि नयाँ अनुहार नदेखिने तथा आँधितुफान–२ को एउटा पनि कलाकार नदोहोरिने गरि तयारीमा रहेको पनि उनले जानकारी दिएका छन् ।
यो चलचित्र नेपाली र हिन्दी भाषामा निर्माणको तयारीमा जुटेका उनले कलाकार पनि आधा कलिउडबाट तथा आधा बलिउडबाट छनौट गरिने पनि जानकारी दिए ।
त्यस्तै चलचित्रका प्राविधिक समेत स्थापित राखेर पूर्ण व्यवसायिक चलचित्रको निर्माणको तयारीमा रहेको समेत उनले जानकारी दिएका छन् । लोकेशन हन्टिङकालागि हाल चन्द्रनिगाहपूरमा रहेका उनले कलाकार तथा प्राविधिकहरु चयनको बारेमा भने टुङ्गो लागि नसकेको बताएका छन् । चलचित्रको कथा, पटकथा, संवाद तथा निर्माता समेत रहने उनले कथा तथा लगानीको बारेमा भने थप खुलाउन चाहेनन् ।
