काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि आज एक बजेका लागि बोलाइएको थियो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार भएको भन्दै प्रधानमन्त्रीले आज बैठकमा जवाफ दिने तयारी गरेका थिए ।
तर, सभामुख घिमिरेले बैठकबारे छलफल गर्न प्रमुख सचेतकहरूसँग छलफल गरेपछि बैठक भोलिसम्मका लागि सरेको हो । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ ।