काठमाडौं । रक गायक रविन तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । आइतवार बिहान नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको श्रद्धाञ्जलीसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले दिवंगत तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नक्साल पुगेका थिए । संगीत तथा फिल्म क्षेत्रका थुप्रै कलाकारहरू समेत तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।
अन्तिम श्रद्धाञ्जलीपश्चात उनको शवलाई अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभाभगवतीमा लगिएको छ । तामाङ परम्पराअनुसार उनको दाहसंस्कार गरिने जनाइएको छ । तामाङ गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा मृत फेला परेका थिए ।