केशवप्रसाद भट्टराई ।
अबको स्वाभाविक बाटो नै प्रचण्ड र प्रितम सिंहले अवलम्वन गर्नुभएको बाटो हो ! प्रचण्डजी किमार्थ गलत हुनुहुन्न !
१. हिजो हामी व्यवस्था बदलिदिन/नयाँ व्यवस्था ल्याउन निर्णायक सहयोग गरिदिन भारत गयौँ, अन्य देशहरूमा गयौँ । व्यवस्था बदल्यौं, नयाँ व्यवस्था ल्यायौँ । एकाध वर्ष के बितेको थियो –हामीलाई राजा नहटाइ भएन, गणतन्त्र चाहियो, सङ्घीयता चाहियो, धर्म निरपेक्षता चाहियो । जति बल लगाए पनि हाम्रो बलले पुग्दैनथ्यो । हाम्रो हुतीले भ्याउन्न थियो । त्यसैले हुने–नहुने सबै गर्यौं । बाँकी केही राखेनौ ।
२. सारा संसार गुहार्यौं, त्यसको लागि कसलाई के के कबुलियत गर्नु पर्दथ्यो त्यो पनि गरिदियौँ । कुन दललाई कुन वाह्य शक्तिहरूको दवाव निर्णायक हुन्थ्यो –उही मार्फत दवाव र धम्की दिन लगायौँ । सेनामाथि कसको र कस्तो दवाव चाहिन्थ्यो–तिनैमार्फत गरायौँ । अपवाद बाहेकका कथित नागरिक समाज त वाह्य अनुदान र सहयोगमै बाँचेका हुन्–तिनको कुरै भएन । अनि यो प्रधानमन्त्री हटाउन र मलाई बनाउन भनिदेऊ –सहयोग गरिदेऊ भनेर पनि जान थाल्यौँ । म/हामी भए हजुर हजुर हजुरलाई कम्फर्टेवल सरकार दिन्छौँ भनेर सार्वजनिक गुहार पनि लगाएकै हौँ । मन्त्री, राजदुत, संवैधानिक निकायमा नियुक्तिको लागि पनि जाने अभ्यास त पुरानै हो । यसलाई होइन, उसलाई भनेर पनि हामी धेरै गएका छौँ ।
३. यो पनि भन्दा र त्यो पनि भन्दा , भन्दा, भन्दा, भन्दा , यी यस्तै हुन् भनेर हाम्रा कुरा कतै नबिक्ने भएपछि प्रितम सिंहजीहरू चाहिने भए । त्यत्रा ठूला गणतन्त्रवादीहरूले राजाकहाँ गएर प्रधानमन्त्रीमा दावी गर्नु कम अपमानजनक थियो ? अनि आफ्नो सम्मान र मर्यादाको लागि, गणतन्त्रकै सम्मान र मर्यादाको लागि एउटा गणतन्त्रवादीले सहयोग माग्ने भनेको प्रितमजी जस्तो गणतन्त्रवादी नभएर को हुनु त ?
४. नारायणहिंटीको विकल्प विभिन्न मुलुकका महामहिमहरूको कार्यालय र निवासलाई त बनाएकै थियौं, अब नारायणहिटीको एउटा विकल्प प्रितम सिंह निवास पनि ??? बधाई हामी महान गणतन्त्रवादीहरूलाई !