काठमाडौं । एसीसी मेन्स इमर्जिंङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल(एसीसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसन ‘ए’ सँग खेल्ने भएको छ ।
नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’, भारत ‘ए’ र युएई ‘ए’ रहेका छन् । यस्तै समूह ‘ए’मा श्रीलंका ‘ए’ बंगलादेश ‘ए, अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ रहेका छन् । प्रतियोगितामा सहभागी अन्य ७ टोलीले ‘ए’ टिम पठाउँदा नेपालले भने सिनियर टोलीले पठाएको छ ।
नेपालले १४ जुलाईमा पाकिस्तान ‘ए’सँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल १७ जुलाईमा भारत ‘’ए र तेस्रो खेल १९ जुलाईमा युएई ‘ए’ सँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सबै खेल ५० ओभरको हुने भएपनि कुनैपनि खेलले एकदिवसीय मान्यता पाउने छैन ।
इमर्जिंङ कपको लागि नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार नेपाली टोलीको घोषणा गरेको छ । विश्वकप छनोट खेल्न जिम्बाव्बे गएको नेपाली टिमका सदस्यहरु ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी टिममा परेका छैनन् । सन्दीप र दिपेन्द्र ग्लोबल टी २० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन भने करण र ज्ञानेन्द्रलाई विश्राम दिइएको छ ।
१६ सदस्यीय टोलीमा देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल समावेश छन् । नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।