नेपालसँगको सीमाको हो या कुनै अरु विषय सबैको समाधान हुन्छः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान हुने बताएका छन् । बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध हिमालभन्दा उँचो बनाउन काम गरिरहने बताएका हुन् ।

उनले भने,’हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं ।’

मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने बताए । पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताएका थिए ।

उनले आफू र प्रधानमन्त्री प्रचण्डले भविष्यमा आफ्नो पार्टनरसिपलाई सुपरहिट बनाउनका लागि महत्वपूर्ण निर्णय गरेको बताए । उनले ट्रान्जिट एग्रिमेन्ट गरिएको भन्दै यसबाट नेपाली जनताका लागि नयाँ रेल रुटका साथै भारतभित्र इनल्यान्ड वाटरवेजको सुविधाको प्रावधान रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने भारतको लक्ष्य लिएको बताए ।

उनले व्यापार सम्झौताले भारतले राखेको जलविद्युत्को लक्ष्यमा सहयोग गर्ने बताए । नेपाल र भारतबीच संयुक्त रूपमा तल्लो अरुण हाइड्रोपावर र फुकोट कर्णाली हाइड्रोपावर आयोजना निर्माणका लागि समझदारी भएको छ । यस्तै, गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ पनि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *