‘सचिवहरूको लस्कर लिएर किन गएको दिल्ली, हाम्रो पैसामा ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारतको चार दिने औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरे । यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर हेरिएको छ र आलोचना पनि भएको छ । खासमा भारतलाई खुसी पार्न भारत भ्रमणमा जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाइएको आरोप एकथरीको छ । त्यस्तै प्रधानमन्त्रीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारी नराखी भेटेको भन्दै त्यसको पनि आलोचना भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे संसदलाई छलेर प्रधानमन्त्री भारत जाने दिनमा नै विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्नु गलत भएको बताउँछन् । उनी भन्छन्,‘ताजा जनादेश प्राप्त संसदलाई छलेर प्रधानमन्त्री भारत जाने दिनमा नै विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति हतारिनु नेपालको अहित गर्ने राजनीतिक र कूटनीतिक अभ्यास हो ।’

नेकपा एमालेका नेता डा. भीम रावलले चाहिँ प्रधानमन्त्रीले भ्रमणको सुरुमै भारतीय सुरक्षा सल्लाहकार भेटेको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ? अफसोस, देशको झुकेको शिर !’

भारत भ्रमणको सुरुको दिन बुधबार प्रधानमन्त्री प्रचण्ड प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल प्रधानमन्त्री बसेको होटल मौर्य पुगेका थिए । डोभल प्रधानमन्त्रीलाई भेट्न जाँदा भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई लिएर गएका थिए । अनि क्वात्रा डायरीमा केही नोट गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । तर प्रधानमन्त्रीले उनीहरुसँगको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई नराखेर छोरी गंगा दाहाललाई मात्र राखिएको भन्दै आलोचना भएको छ ।

गत माघमा बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको थियो । निर्णय चाहिँ गर्ने तर त्यसलाई अनुशरण नगरिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले सरकारी प्रतिनिधि नराखी भारतीय सुरक्षा अधिकारीसँग भेट गरेको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले हाम्रो तर्फको सरकारी प्रतिनिधि नराखी भारतीय सुरक्षा अधिकारी, विदेश सचिवसँग कुरा गरेको पटक्कै भएन । छलफलमा छोरी राखेको झन् भएन । अनि यस्ता बैठकमा बस्न नपर्ने मन्त्री, सचिवहरूको लस्कर लिएर किन गएको दिल्ली, हाम्रो पैसामा ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *