नागरिकता विधेयकमा आलोचना र प्रतिवादको अन्तर्य

शंकर पोखरेल ।
कतिपयले नागरिकता विधेयकमा के समस्या छ भनेर भइरहेको आलोचनाको प्रतिवाद गरिरहनु भएको छ । कतिपयले नेकपा(एमाले)ले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनेर भ्रम सिर्जना गर्न खोजेको देखिन्छ । वैवाहिक अंगीकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तिमा समान व्यवस्था राख्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा र नेपालमा विवाह लगतैको असमान व्यवस्था राखेको छ ।

संविधानले प्रादेशिक पहिचान खुल्नेगरी नागरिकताको व्यवस्था हुनुपर्ने प्रवन्ध गरेको छ । तर अहिलेको स्वीकृत विधेयकमा त्यो समावेश छैन ।
सर्वोच्च अदालतले नेकपा(एमाले)को नेतृत्वको सरकारको समयमा अंगिकृतका सन्तानले व्यहोरिरहेको नागरिकता समस्याको समाधान गर्न खोजिएको थियो । अध्यादेशमार्फत उक्त समस्याको समाधान गर्नखोज्दा प्रकृयामा जोड दिएर अध्यादेश खारेज गरेको थियो । त्यतिवेला नागरिकताको विषय सम्वेदनशील विषय भएको निष्कर्षसहित संसदीय प्रकृयामा विशेष जोड दिइएको थियो । तर अहिले संसदीय प्रकृयालाई समेत पूर्णतः उपेक्षा गरिएको अवस्था हो ।

त्यसमाथि प्रकृयागत हिसावले सम्माननीय पूर्व राष्ट्रपतिले संवैधानिक रुपमा अघिसारेका गम्भीर प्रश्नहरुमा छलफलमा प्रवेश नगरिकनै त्रुटिपूर्ण र अपूर्ण विधेयक प्रमाणिकरणका लागि पुनः राष्ट्रपतिकोमा पठाएको थियो । जसलाई उहाँले प्रमाणीकरण नगरी अस्वीकार गर्नुभएको अवस्था हो । यस्तो अवस्थामा प्रमाणीकरण नभइ अस्वीकृत भएको र नयाँ जनादेश प्राप्त संसदले काम थालेको ६ महिना पुगिसकेको अवस्थामा संसदीय प्रकृयामा प्रवेश नै नगराई पुरानै निष्कृय भएको विधेयकलाई व्याकडोरवाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वभाविक विषय हो र ?

अनि यस्तो विषयमा प्रश्न उठ्दा जानीजानी के हो असहमति भनेर प्रतिवाद गर्नु संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमुल्यन गर्नु होइन र ?
नजानेर/नवुझेर प्रश्न गर्नु स्वभाविक मान्न सकिन्छ । बुझीबुझी प्रश्न गर्नु, असहमतिलाई उपेक्षा गर्नु वा खिसिट्युरी गर्नु अत्यन्त हानिकारक प्रवृत्ति हो । यस्ता कुरामा सचेत र गम्भीर बन्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *