सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडाैँ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताए ।

उनले अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने बताए । उनले परिवारमा एक जनाले सुर्ती सेवन गरेको छ भने परिवारका अन्य सदस्यलाई त्यसको असर हुने स्पष्ट पारे ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थका कारण क्यान्सर रोगी वृद्धि हुँदै गएको बताए । उनले शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री  वितरण गर्न गराउन नपाइने व्यवस्था रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ ।

धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्ने समाचार गाेरखापत्रमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *