एसियाडका लागि करातेको टिम छनोट

काठमाडौं । नेपाल कराते महासंघले आसन्न १९औं एसियाली खेलकुदका लागि फाइनल टिम छनोट गरेको छ ।

सातदोवाटोस्थित कराते हलमा बुधबार सम्पन्न दुई दिने प्रतियोगितामार्फत कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना तथा कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट गरेको हो ।

राउण्ड रोविन लिग प्रणाली अनुसार सन्चालन गरिएको प्रतियोगितामा महिला ५० केजीमूनि तौलसमूहमा सविना श्रेष्ठ, ६१ केजीमूनि तौलसमूहमा निरुपा तामाङ र ६८ केजीमाथि तौलसमूहमा एरिका गुरुङले एसियाडको अन्तिम सूचीमा स्थान बनाएका छन् ।

पुरुषतर्फ ६७ केजीमूनि र्तालसमूहमा सन्तोष श्रेष्ठ, ७५ केजीमूनि तौलसमूहमा मोहम्मद शेख र ८४ केजीमूनि तौलसमूहमा विप्लव श्रेष्ठले एसियाली खेलकुद खेल्ने भएका छन् । विप्लव चार वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् ।

त्यस्तै कातातर्फ महिलामा एलिशा रास्तकोटी र पुरुषतर्फ स्वर्णिम मानन्धरले असोजमा हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कराते महासंघले गत ५–७ फागुनमा आयोजना गरेको प्रारम्भिक छनोटमा १२ तौलसमूहमा स्वर्ण, रजत र कांस्य जित्ने १२९ जनालाई नियमित प्रशिक्षणमा राखेको थियो । तीमध्येबाट नेपालको सहभागिताको सीमितता र क्षमता तथा सम्भावना भएका तौलसमूहका खेलाडीलाई एसियाली खेलकुदका लागि छनोट गरिएको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *