नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गर्नुभयोः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको घोर उल्लंघन गरेको आरो लगाएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भट्टराईले यो सार्वभौम संसदमाथिको नांगो अतिक्रमण भएको बताएका हुन् । उनले भनेका छन्, ‘अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उल्लंघन गर्नु भएको छ । यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो । संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय हो । प्रमाणीकरण सम्बन्धि विज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जवकी विधेयक प्रमाणीकरणको बिषय संविधानको को धारा ११३ अनुसार मात्र हुनसक्छ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणकै दिन हुनुमा आशंका उब्जिएको बताए । उनले भने, ‘नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ?’

राष्ट्रपति बुधबार विधेयक प्रमाणीकरण गरेका हुन् । यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई थन्क्याइदिएकी थिइन् । । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *