गुजरातलाई हराउँदै चेन्नई आइपीएल च्याम्पियन

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को उपाधि जितेको छ । सोमबार राति भएको फाइनल खेलमा साविक विजेता गुजरात टाइटान्सलाई डकवर्थ लुइस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नईले पाँचपटक आईपीएलको उपाधि जितेको हो ।

जीतको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले ०.४ ओभरमा ४ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लुइस पद्दतिको आधारमा १५ ओभरमा १ सय ७१ रनको विजयी लक्ष्य पाएको चेन्नईले १५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चेन्नईको लागि डेभन कन्वेले सर्वाधिक ४७ रन वनाए । उनले २५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाए । यस्तै शिभम डुबेले ३२, अजिन्के राहनेले २७, रुतराज गैकवाडले २६, अम्बती रायडुले १९ र रविन्द्र जडेजाले १५ रन बनाए ।

गुजरातको लागि मोहित शर्माले तीन र नुर अहमदले दुई विकेट लिए ।

यसअघि अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षरिमा २ सय १४ रन बनाएको थियो । गुजरातको लागि साइ सुधर्सनले सर्वाधिक ९६ रन बनाए । उनले ४७ बलमा ८ चौका र ६ छक्काको मद्दतमा ९६ रन बनाए । यस्तै रिद्दिमान साहले ३९ बलमा ५ चौका र एक छक्काको सहयोगमा ५४ रन बनाउँदा शुभमन गिलले ३९ र हार्दिक पान्ड्यले २१ रन बनाएका थिए ।

चेन्नईको लागि माथेशा पाथिरानाले दुई तथा रविन्द्र जडेजा र दिपक चहारले एक-एक विकेट लिए ।

जीतसँगै चेन्नईले सर्वाधिक पाँचपटक आईपीएल जित्ने मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । यता गुजरातको भने उपाधि रक्षा गर्ने सपना पुरा हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *