त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय रङ्गशालाका रुपमा विकास गरिने

काठमाडौं । सरकारले कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रुपमा विकास गर्ने भएको छ ।

अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्रिवि क्रिकेट मैदानमा आगामी आर्थिक वर्षभित्र फल्ड लाइट राख्ने काम सम्पन्न गर्ने घोषणा गरेका  हुन् । उनले  निर्माणाधीन मूलपानी क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गरेको बताए ।

अर्थमन्त्री महतले काठमाडौँको सुवर्णशम्शेर रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला, बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण कार्य अगाडि बढाउन बजेट छुट्याएको बताए ।

उनले सार्वजनिक निजी साझेदारीमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, अल्ट्रा म्याराथन लगायतका साहसिक खेलकुदका खेल पूर्वाधार निर्माणको व्यवस्था गरिने बताए ।

अर्थमन्त्री महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाएको बताए । उनले नेपाल क्रिकेट सङ्घ (क्यान), नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लगायतका विभिन्न खेलकुद सङ्घको क्षमता विकास गरी खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गर्ने बताए ।

सरकारले १९औँ एसियाली खेलकुद प्रतियोगिता र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बजेट छुट्याएको छ भने निर्माणाधीन धनगढी, पोखरा, इटहरी र नेपालगगञ्जको प्रदेश रङ्गशाला र कभर्डहलको निर्माण सम्पन्नका लागि बजेटको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *