‘ए’ डिभिजन लिगमा खुमलटार विजयी

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा विदेशी खेलाडी मोसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक गोल गरे ।

पराजित हिमालयनका लागि भने म्यानुयल नानाले एक गोल गरे । खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको छैटौँ मिनेटमा नानाले गोल गर्दै हिमालयन शेर्पालाई पहिलो अग्रता दिलाए । हिमालयन शेर्पाको १–० गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन ।

खेलको पहिलो हाफको १७औँ मिनेटमा नै खुमलटारका ओलोमोउले एक गोल फर्काउँदै खेललाइ एक–एक गोलको बराबरीमा ल्याए । पहिलो हाफसम्म एक–एक गोलको बराबरीमा सकिएको खेलमा खेलको दोस्रो हाफमा खुमलटारले एक गोल थप्दै आफ्नो टोलीको जित सुुनिश्चित गर्यो । खेलको ७६औँ मिनेटमा बिनोङले गोल गर्दै खुमलटारलाई २–१ को रोमाञ्चक जित दिलाए ।

जितसँगै खुमलटार २२ खेलमा २४ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै, समान खेल खेलेको हिमालयन शेर्पा २९ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *