‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारा मिराण्डालाई

पोखरा । विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जितेका छन् ।

शनिबार बिहान ४ बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार बिहान कास्कीको माछापुच्छ्रे गाउँपालिका– ल्वाङमा आएर समापन भएको हो । त्यसक्रममा सहभागी खेलाडी समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मर्दी हिमालको ‘भ्यु प्वाइन्ट’सम्म पुगेका थिए ।

पुरुषतर्फ च्याम्पियन बन्नुभएका पिटरले फेवातालमा तीन किलोमिटर आठ सय मिटर पौडी त्यसपछि एक सय ५० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गरेका हुन् । यसैगरी इटालीका जिओभानी बोर्रटालासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी द्धितीय र रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तृतीय भए ।

महिलातर्फ उपाधि बिजेता मिरण्डाले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाएकी थिइन् । महिलातर्फ फ्रान्सका बेनेडिक पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै द्धितीय स्थान हासिल गरिन् । चेक रिपब्लिकका भेरो निकाले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाइन् ।

प्रतियोगितामा २२ देशका ३६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए । प्रतियोगीले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि एक सय ७५ किलोमिटर साइकल दौड सुरु गरेका थिए । पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँ पुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँ पुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो ।

त्यसपछि ४३ किलोमिटर लामो दौड सुरु भएको थियो । काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (चार हजार तीन सय मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योञ्जनले बताए । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बङ्गलादेश, भारतलगायत मुलुकबाट पाँच महिला र ३१ पुरुष खेलाडी सहभागी थिए ।

ल्वाङमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले साहसिक प्रतियोगिताले नेपाललाई विश्वभर चिनाएको बताए । पर्यटन प्रवद्र्धनसँगै यस्तो खालको प्रतियोगितालाई संसारले चासोपूर्वक हेरिरहेको उनको भनाइ छ । सदस्यसचिव घिसिङले भने,“ विश्वका उत्कृष्ठ खेलाडी नेपालमा आएर प्रतियोगितामा सहभागी भएकाले विश्वभर यहाँका बारेमा राम्रो सन्देश दिएको छ । ”

नेपाल ट्रायथलन सङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालका लागि प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताए । “यो फरक प्रकारको खेलकुद प्रतियोगिता हो, यसमा खेलाडीको अदम्य साहस आवश्यक हुन्छ, हाम्रो जस्तो मुलुक विशेष गरी पोखरा सहर यो खेलका लागि सर्वश्रेष्ठ ठाउँसमेत हो, यसबाट नेपालको पर्यटन प्रर्वद्धनसँगै आर्थिक उन्नतिको मार्गचित्र कोर्न सफल भएको छ”, श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *