काठमाडौं । मन्त्री हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अभियोग पुष्टि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलार्ई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ । योसँगै श्रेष्ठको सांसद पद गएको छ । रास्वपाले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय समेत गरेको छ । घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले बताएका छन् । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले मागेको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । श्रेष्ठलाई पार्टीबाट निकाले पनि उनले भनेको कोर टिमकाबारेमा रास्वपाले भने अनभिज्ञता प्रकट गरेको छ । पार्टीको संकेत विना ढाकाकुमारले एक्लै दुई करोड माग्ने आँट पक्कै गरेका होइनन् भन्ने आँकलन धेरैले गरेका छन् । ढाकाकुमार त्यस्ता व्यक्ति हुन् जो सहकारीको विवादमा मुछिएका छन् । निक्षेपकर्ताको एक करोड हिनामिना गरेको आरोप उनीमाथि थियो । त्यो थाहा हुँदाहुँदै रास्वपाले उनलाई समानुपातिक सांसद बनाएको थियो । यसबाट के पुष्टि हुन्छ भने समानुपातिक सांसद हुन पक्कै पैसा बुझाउनुपर्छ । यो अडियो प्रकरण पछिल्लो हो । यसअघि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादु महरा, नेकपा एमालेका नेता गोकुल बास्कोटाका पनि अडियो काण्ड बाहिरिएका थिए । तर उनीहरुमाथि भने कारबाही भएन ।
तत्कालीन नेकपा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग निर्वाचनका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो। अडियो भारतबाट चल्ने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान’ले सबैभन्दा पहिला प्रसारण गरेको थियो । टेलिफोन संवादमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको चिनियाँसँग समक्ष भनेको सुनिएको थियो । अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोडका लागि आफू सिंगापुर, हङकङ र छेन्दु शहरमा बैठकका लागि आउन तयार रहेको समेत बताएका थिए । तर महराले अडियो झुटो भएको दाबी गरेका थिए। संवादको अडियो सार्वजनिक भएपनि उनीमाथि न अनुसन्धान भयो न कुनै कारवाही नै। उल्टै उनको राजनीतिक बढुवा भयो । महरा सभामुख बने ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री बहाल रहेका बेला नेकपा एमालेका नेता गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भयो । सेक्युरिटी प्रेस खरिदमा कमिसन लिन उनले दलालसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको थियो । बाहिर आएको अडियो यस्तो थियो, ‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन् । यो मु‘.ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’
मन्त्री बास्कोटाले स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको हो । बास्कोटाले स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियोमा सुनिन्छ । यो प्रकरणपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा त दिए तर उनीमाथि कुनै कारबाही भएन । यसबारे अख्तियारमा उजुरी नपरेको होइन । तर अख्तियारले कुनै कारबाही प्रक्रिया अघि बढाएन । बरु उल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको बचाउ गरिरहे र अहिले पनि गरिरहेका छन् ।
मन्त्री बन्न ढाकाकुमारले दुई करोड मागेको घटना नेपाली राजनीतिमा नौलो भने होइन । सांसद बन्न करोडौं रुपैयाँ पार्टीलाई बुझाएका उदाहरण छन् । दोस्रो संविधानसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट सांसद बनेकी राज्यलक्ष्मी गोल्छाले आफूले सांसद बन्न सात करोड पार्टीलाई बुझाएको बताएकी थिइन् । एमालेले प्रधानमन्त्री चयनका लागि भएको मतदान र संविधान निर्माण प्रक्रियामा गोल्छा सहभागी नभएको ठहर गर्दै सांसदबाट हटाउने निर्णय गरेपछि उनले आफूले पार्टीलाई सात करोड भन्दाबढी बुझाएकाले हटाए अनिष्ट हुने चेतावनी दिएकी थिइन् । त्यतिबेला उनले भनेकी थिइन,‘मैले पार्टीलाई एक करोड ६५ लाख रुपैयाँ स्वेच्छाले सहयोग गरेकी छु । जम्मा गरी मैले सात करोड रुपैयाँ बुझाएकी छु । त्यसैगरी, संविधान सभामा निर्वाचनमा मैले पार्टीलाई शारीरिक श्रम तथा ठूलो आर्थिक सहयोग गरेकी छु । म एक मधेसी महिला, एकल महिला, उद्यमी महिला हटाएर पार्टीले कुनै ठूलो काम गरेजस्तो लाग्दैन । यसले पार्टीको बदनाम गरिसकेको छ । मलाई पार्टीले आन्तरिकरुपमै समाधान खोजेको भए हन्थ्यो भन्ने जस्तो लाग्थ्यो । संचारमाध्यमसँग बोल्न बाध्य बनायो ।’
उनी प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा अनुपस्थित भएकी थिइन् । गोल्छालाई सांसद बनाउँदादेखि नै एमाले भित्र विवाद भएको थियो। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले धनीलाई सांसद बनाइएको भन्दै सार्वजनिक रुपमै पार्टी नेतृत्वको आलोचना गरेकी थिइन् । व्यवसायिक घराना गोल्छा समूहको बुहारीलाई सभासद् बनाएको र सडकमा ढुङ्गा खानेलाई नबनाएको भन्दै विरोध भएको थियो ।
महराको ५० करोड, गोकुलको ७० करोड, गोल्छाको ७ करोड हुँदै ढाकाकुमारको २ करोडसम्म आइपुगेको छ । यो श्रृंखला यसमै अन्त्य होला कि अब करोडबाट लाखमा आउने हो । त्यसका लागि भने प्रतिक्षा नै गर्नुपर्ला ।