वीरगन्ज । सर्वसाधारण र अन्य निकायले सार्वजनिकस्थलमा फोहोर फाल्दा जरिमाना तिराउँदै आएको वीरगन्ज महानगरपालिकाले नेपाल टेलिकम क्षेत्रीय कार्यालयभित्र फोहोर फालेपछि महानगरको शैलीका विषयमा टीका टिप्पणी सुरु भएको छ ।
महानगरपालिकाले टेलिकममा सात ट्याक्टर फोहोर फालेको छ । नेपाल टेलिकमले फाइबर तार ओच्छ्याउन भन्दै वीरगन्ज बाइपासको कालोपत्रे सडक र फुटपाथ खनेर बिगारेपछि फोहोर थुपारेर टेलिकमलाई सांकेतिक दबाब दिएको वीरगन्ज महानगरपालिकाका अधिकारीको भनाइ छ ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालयले वीरगन्जले बाइपास सडकखण्डको वीरगन्ज भन्सारनजिक रजतजयन्ती चोकदेखि गण्डकस्थित तेजबहादुर अमात्यको शालिकसम्म भू–सतहमा फाइबर तार ओछ्याउँदै छ । टेलिकमलाई छिटो काम गर्न पटक–पटकको आग्रह गरे पनि निर्धारित समयमा काम नभएकाले बाध्य भएर फरक ढंगले दबाब दिएको महानगरपालिकाको भनाइ छ ।
नेपाल टेलिकमले त्यहाँ काम गर्न अटेर गरेकाले बाध्य भएर उसलाई सांकेतिक दबाब दिएको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । वीरगन्जको रजतजयन्ती चोकदेखि पाइपास सडकखण्डको गण्डकचोक (तेजबहादुर अमात्यको सालिकसम्म) नेपाल टेलिकमले पाँच–सात किलोमिटर सडकखण्डमुनि भू–सतहमा फाइबर तार ओच्छ्याउँदै छ । कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नुपरेकाले यो कदम उठाउन बाध्य भएको उनले बताए ।
महानगरपालिकाले वीरगन्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकम बाधक भएको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरीसहितको टोलीले सात ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालेको उनले स्वीकार गरे ।
‘खनिएका सडक र फुटपाथ मर्मतका लागि पटकपटक आग्रह गर्दा नसुनेपछि यस्तो गर्न परेको हो,’ महानगरप्रमुख राजेशमान सिंहको भनाइ उद्धृत गर्दै उनको सचिवालयका सञ्चारकर्मीले भने । सात किलोमिटरमध्ये ३ सय ५० मिटर जति मात्र काम सम्पन्न गर्न बाँकी रहेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगन्जका क्षेत्रीय निर्देशक अनन्त प्रकाश मल्लिकको भनाइ छ । स्थानीयको अवरोध र ठेकेदारले विलम्ब गर्दा फागुनभित्र सम्पन्न गर्ने भनिएको काममा केही ढिलाइ भएको निर्देशक मल्लिकले स्विकारे । ‘हामीले ठेकदारलाई कारबाही गरेका छौं, अब केही दिनभित्रै उसले कामसक्ने बताउँदै आएको छ,’ मल्लिकले भने ।
टेलिकमको कार्यालयमै फोहोर फालेर सांकेतिक दबाब दिएको नगरप्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । गत ३ फागुनमा प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरूको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको तर अहिलेसम्म काम नगरेको उनको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।